सुर्खेत । एक वर्षदेखि पदाधिकारीविहीन बनेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्य–सचिव पदका लागि खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया सुरु भएको छ । सामाजिक विकास मन्त्रालयले अघि सारेको प्रक्रियामा २१ जनाले दरखास्त दिएका छन् ।
परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद हमाल र सदस्य–सचिव विश्वामित्र संज्यालसहित पदाधिकारीहरूको चारवर्षे कार्यकाल गत वर्ष पुस ६ गते सकिएपछि परिषद् नेतृत्वविहीन बनेको थियो । नेकपा (एमाले)–नेपाली कांग्रेस गठबन्धन सरकार भए पनि राजनीतिक भागबण्डा नमिल्दा परिषद् र प्रदेश लोकसेवा आयोग लामो समय निष्क्रिय रहँदै आएका थिए । यसकै असरस्वरूप दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासमेत प्रभावित भएको थियो ।
खेलकुद गतिविधि ठप्पजस्तै बनेपछि सामाजिक विकास मन्त्रालयले अध्यादेशमार्फत नियुक्ति गर्ने प्रयास गरे पनि मुख्यमन्त्री यामलाल कँडेलको निर्देशनपछि खुला प्रतिस्पर्धाका आधारमा सदस्य–सचिव नियुक्त गर्ने निर्णय गरिएको हो ।
प्रतिस्पर्धामा परिषद्का पूर्वउपाध्यक्ष प्रमोद हमाल, पूर्वसदस्य–सचिव विश्वामित्र संज्याल र बोर्ड सदस्य हेमा खड्कासहित अन्तर्राष्ट्रिय पदक विजेता उसु खेलाडी दीपक हमाल पनि सहभागी छन् । दीपक हमालले सन् २०१९ को दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण तथा सन् २०२४ को अन्तर्राष्ट्रिय खुला उसु प्रतियोगितामा दुई कास्य पदक जितिसकेका छन् ।
यसैगरी, कालिकोटको खाँडाचक्र नगरपालिका–७ का पंखबहादुर मल्ल पनि उम्मेदवारमध्ये पर्छन् । मल्ल खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्ति हुन् । उनी कर्णाली क्षेत्रमा लोकप्रिय भलिवल खेलाडी मात्र होइन, विभिन्न प्रतियोगितामा एम्पायर (रेफ्री)को भूमिकामा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलका स्वकीय सचिव घनश्याम पाण्डेले पनि आवेदन दिएका छन् । साथै जुम्ला, दैलेख, सुर्खेत, रुकुम पश्चिम र कालिकोटलगायत जिल्लाबाट खेलकुद प्रशासन, संघ–संस्था र जिल्ला खेलकुद विकास समितिमा अनुभव भएका व्यक्तिहरू प्रतिस्पर्धामा छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार, नेपाली नागरिक, कर्णाली प्रदेशको स्थायी बासिन्दा, २५ वर्ष उमेर पूरा भएको, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण र खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको व्यक्ति खुला प्रतिस्पर्धामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।
प्रदेश सचिवको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय सिफारिस समितिले मापदण्डअनुसार आवेदकहरूको मूल्यांकन गरी बढी अंक प्राप्त गर्ने तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । समितिको सिफारिसपछि मन्त्रिपरिषद् बैठकबाट कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव नियुक्त गरिने मन्त्रालयले जनाएको छ ।

दियो खबर । ८ पुष २०८२, मंगलवार १०:००