अपडेट

कालिकोटबाट ३ जना केन्द्रीय सदस्यमा निर्वाचित

सुर्खेत/ नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट कालिकोट जिल्लाबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यसलाई जिल्लाबाट पार्टीको केन्द्रीय नेतृत्वमा उल्लेखनीय उपस्थिति बढेको रूपमा लिइएको छ।

महाधिवेशनअन्तर्गत भएको मतदानमा खुला केन्द्रीय सदस्य पदमा मिनबहादुर शाही निर्वाचित भएका छन्। त्यस्तै, पिछडिएको क्षेत्र तर्फ नगेन्द्र शाही (नेशनल) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। दुवै जना रास्कोट नगरपालिकाका हुन्।

यसैगरी,कर्णाली प्रदेश भूगोल–महिला तर्फ इन्दिरा सञ्ज्याल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनी पचालझरना गाउँपालिकाकी हुन्।

११औँ राष्ट्रिय महाधिवेशनमार्फत नेकपा एमालेले नयाँ केन्द्रीय नेतृत्व चयन गरेको छ। पार्टीले अनुभव र नयाँ पुस्ताको संयोजनमार्फत संगठनलाई थप मजबुत र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

कालिकोटबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्लाका नेता–कार्यकर्ता तथा समर्थकहरूमा उत्साह बढेको छ। नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पार्टी संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण र नीति कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया