
कालिकोट — विद्यार्थी राजनीतिदेखि नै नेतृत्व क्षमताको पहिचान बनाउँदै आएका कुर्मराज शाही नेकपा एमालेलाई ११औँ महाधिवेशनमा केन्द्रिय सदस्यका बलियो उम्मेदवारका रूपमा उभिएका छन्। संघर्षशील यात्रा, संगठनप्रतिको समर्पण र जनतासँगको नजिकको सम्बन्धका कारण उनी कालिकोटमा ‘जनताको नेता’ भनेर चिनिन्छन्।
शाहीले जिल्ला सचिवको पदबाट आफ्नो राजनीतिक उचाइ शुरु गरेका थिए। त्यसपछि लगातार तीन कार्यकाल जिल्लाअध्यक्ष बने, जुन कालिकोटको राजनीतिक इतिहासमै दुर्लभ उपलब्धि मानिन्छ। संगठन विस्तार, जनताको समस्या प्रत्यक्ष सुन्ने बानी र पार्टीप्रतिको निष्ठाका कारण उनी जिल्लामा लोकप्रिय नेता बनेका छन्।
२०७० को प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रसँग थोरै मतान्तरले पराजित भए पनि २०७४ मा वामगठबन्धनका उम्मेदवार बनेर प्रदेशसभा सदस्यमा निर्वाचित भए। कर्णाली प्रदेश सरकारमा करिब ६ महिना कृषि मन्त्री रहँदा उनले कृषि पूर्वाधार विकास, अनुदान व्यवस्थापन र स्थानीय उत्पादनको बजारिकरणमा सक्रिय भूमिका खेले।
एमालेको ९औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा झिनो मतान्तरले पराजित भएका शाही २०७९ को प्रदेश सभा क निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनसँग सानो मतान्तरले पराजित भए। तर हार–जितले उनको राजनीतिक यात्रा रोकिएन।
दियो खवरसँग कुरा गर्दै शाहीले भने,
“म घाइते बाघ हुँ, पछि हट्न जान्दिनँ। यो पटक प्रतिनिधिले न्याय गर्छन्। कठिनाइ र जोखिमले मलाई रोक्न सकेन। जनताको विश्वास र संगठनप्रतिको मेरो समर्पण अझ बलियो छ।”
संघर्षको क्रममा उनले धेरै जोखिम पनि व्यहोरे। जनयुद्धका कठिन दिनदेखि शान्ति प्रक्रियापछिको आन्दोलनसम्म शाही सदैव अग्रपंक्तिमा रहे। मान्म बजारमा माओवादी कार्यकर्ताबाट कुटिएर टाउको फुटेको र हात भाँचिएको घटनापछि उनले काठमाडौँमा लामो समय उपचार गराए र फेरि राजनीतिक मैदानमा फर्किए।
ताहाचल क्याम्पसबाट सुरु भएको उनको राजनीतिक यात्रा अहिले निर्णायक मोडमा पुगेको छ। एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा उनी कालिकोटदेखि कर्णालीसम्म ‘संगठनप्रति निष्ठावान र संघर्षमा परिपक्व नेता’का रूपमा प्रस्तुत भइरहेका छन्।
सरल स्वभाव, जनतासँगको प्रत्यक्ष सम्बन्ध, कठिन परिस्थितिमा पनि नथाक्ने स्वभाव र संगठनमाथिको अटूट समर्पण—यी गुणहरूले कुर्मराज शाहीलाई केन्द्रिय सदस्यका बलियो दाबेदार बनाएका छन्।

दियो खबर । १६ मंसिर २०८२, मंगलवार २२:१९