अपडेट

सुर्खेतमा मोटरसाइकल–स्कुटर ठोक्किँदा पत्रकार आचार्यको निधन

सुर्खेत — वीरेन्द्रनगर–२ नम्बर वडा कार्यालय अगाडि मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेशन म्यानेजर समेत रहेका पत्रकार वीरेन्द्र आचार्यको ज्यान गएपछि कालिकोट जिल्ला शोकमा डुबेको छ।

मुलपानीबाट भुरेली तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल (चालक २३ वर्षीय यामबहादुर शाही र लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर चलाइरहेका ३४ वर्षीय आचार्य एकआपसमा ठोक्किएका थिए।

गम्भीर घाइते भएका शुभकालिका गाउँपालिका–६ घर भई हाल वीरेन्द्रनगर–१ बस्दै आएका आचार्यलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक शाहीको अवस्था मध्यम रहेको र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया