अपडेट

नेकपा (एस) ले वराल र शाहीलाई केन्द्रीय सदस्यमा चयन गर्‍यो

सुर्खेत/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले कालिकोट जिल्लाबाट दुई जना नयाँ केन्द्रीय सदस्य चयन गरेको छ। चयन हुनेमा  निवर्तमान कर्णाली प्रदेश कमिटी सदस्य तथा रास्कोट नगरपालिका उप–प्रमुख मनिराज वराल र निवर्तमान कालिकोट  जिल्ला उपाध्यक्ष तथा खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही रहेका छन्।

वराल कालिकोट क्षेत्र ‘ख’ बाट र शाही क्षेत्र ‘क’ बाट प्रतिनिधित्व गर्छन्। यो निर्णयसँगै कालिकोटबाट नेकपा (एस) का केन्द्रीय सदस्य संख्या पाँच पुगेको छ। पार्टीका अनुसार दुबै नेताहरू संगठन सुदृढीकरण, जनसंगठन विस्तार र राजनीतिक सन्तुलन कायम गर्न महत्वपूर्ण जिम्मेवारीमा रहेका छन्।

दुवै नेताले आजै काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यको पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। सपथपछि उनीहरूले केही दिनभित्रै आफ्नो कार्यक्षेत्र कालिकोट फर्किने तयारी रहेको जानकारी दिएका छन्।

सपथपछि संक्षिप्त प्रतिक्रिया दिँदै मनिराज वरालले भने,“यो जिम्मेवारी जनताको भरोसाले पाएको हो। म यसलाई अवसर होइन, दायित्वका रूपमा लिन्छु। कालिकोटका जनताको आवाज केन्द्रीय तहमा पुर्‍याउने प्रतिबद्धता लिन्छु।”त्यसैगरी कमलबहादुर शाहीले भने,“गरिब, निमुखा र असहाय जनताको पक्षमा सधैं काम गर्दै आएको छु। अब केन्द्रीय तहबाट जनताको हितमा अझ प्रभावकारी रूपमा काम गर्ने लक्ष्य लिएको छु।”

कालिकोटका स्थानीय कार्यकर्ता र नागरिकहरूले दुवै नेताको चयनलाई उत्साहपूर्वक स्वागत गरेका छन्। उनीहरूका अनुसार वराल र शाही दुबै लामो समयदेखि जनताको बीचमा रहेर विकास, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सक्रिय जनमुखी नेता हुन्।

पार्टी स्रोतका अनुसार, केन्द्रीय कमिटीले हालैको बैठकमा संगठन सुदृढीकरण, सदस्य विस्तार र जनसंपर्क बलियो बनाउने निर्णय गर्दै सक्रिय र इमानदार नेताहरूलाई प्राथमिकता दिएको थियो। त्यसै क्रममा वराल र शाहीको नाम सर्वसम्मत रूपमा पारित गरिएको हो।

पार्टीको केन्द्रले पनि कालिकोटका नेताहरूको योगदान र सक्रियतालाई उच्च मूल्याङ्कन गर्दै ‘जनताबाट उठेका र जनतामाझ रहने नेताहरूलाई केन्द्रीय तहमा ल्याउने नीति’ अन्तर्गत उनीहरूलाई जिम्मेवारी दिएको बताइएको छ।

तपाईको प्रतिक्रिया