अपडेट

प्रथम सन्तोष स्मृति कप भलिबल प्रतियोगिता सम्पन्न

                    तस्विरःपत्रकार आमिर

कालिकोट / खाँडाचक्र नगरपालिका–४, कालिकोटमा आयोजना गरिएको प्रथम वडा स्तरीय सन्तोष विक स्मृति कप–२०८२ पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेल मर्यादित र अनुशासित ढंगले सम्पन्न भएको वडा अध्यक्ष प्रभानन्द आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा नरहरिनाथ गाउँपालिका–७ विजेता बनेको छ । विजेता टोलीले कप, मेडल र नगद रु ३५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै खाँडाचक्र नगरपालिका–६ उपविजेता बन्दै कप, मेडल र नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको छ भने खाँडाचक्र नगरपालिका–५ ले कप, मेडल र नगद रु १५ हजार सहित तेस्रो स्थान हासिल गरेको हो ।

उत्कृष्ट खेलाडी नरहरिनाथ–७ का किरण बटला, उत्कृष्ट स्पाइकर खाँडाचक्र–६ का कुल गोराल, उदयमान खेलाडी खाँडाचक्र–४ का नविन विक, र उत्कृष्ट लिब्रो नरहरिनाथ–७ का हिमाल विक घोषित भएका छन् ।

वडा अध्यक्ष प्रभानन्द आचार्यले सन्तोष विकको सम्झनामा आयोजना गरिएको प्रतियोगिताले युवाहरूमा खेलप्रतिको रुचि र एकताको भावना बढाएको बताउनुभयो । उहाँले आगामी वर्षहरूमा पनि यस किसिमका प्रतियोगिता निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पूर्व वडा अध्यक्ष धनसिंह विश्वकर्माले सन्तोष विक जस्ता सक्रिय र प्रेरणादायी युवाको सम्झनामा आयोजना गरिएको प्रतियोगिता खेलकुद र सामाजिक एकताको उत्कृष्ट उदाहरण भएको बताउनुभयो ।

त्यसैगरी, शिक्षा शाखा प्रमुख जसी प्रसाद चौलागाईंले खेलकुदले युवामा अनुशासन, आपसी सहकार्य र सकारात्मक सोच विकास गर्ने भएकाले यस्तो गतिविधि निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।

खाँडाचक्र नगरपालिका–४ को आर्थिक सहयोग तथा स्थानीय युवा क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा स्थानीय बासिन्दा र युवाहरूको उत्साहजनक सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया