अपडेट

सन्तोष स्मृति कप भलिबल प्रतियोगिता भोलिदेखि ताडिमा सुरु

कालिकोट/खाँडाचक्र नगरपालिका–४ ताडिामा प्रथम वडा स्तरीय सन्तोष स्मृति कप खुला भलिबल प्रतियोगिता–२०८२ भोलिदेखि सुरु हुँदैछ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजना गरिएको उक्त प्रतियोगिता स्व. सन्तोष विश्वकर्माको सम्झनामा हुने भएको हो।

२०७९ साल वैशाखमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका विश्वकर्माको भिरबाट लडेर निधन भएपछि उहाँको सम्झनामा यो प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष प्रभानन्द्र आचार्यले जानकारी दिए।

प्रतियोगिता असोज ३० गतेदेखि कार्तिक १ गतेसम्म श्री नवज्योति प्राथमिक विद्यालय, गैरा, ताडिमा सञ्चालन हुनेछ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ३५ हजारसहित कप र मेडल, द्वितीय हुने टिमलाई रु. २५ हजारसहित कप र मेडल, र तृतीय हुने टिमलाई रु. १५ हजारसहित कप र मेडल प्रदान गरिनेछ।

आयोजकका अनुसार, खेलकुदले युवामा स्वास्थ्य सचेतना र आपसी एकता बढाउने भएकाले प्रतियोगिताबाट स्थानीय स्तरमा खेलकुदको वातावरण थप सशक्त हुने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया