दिर्घ वहादुर शाही “डोक्काघरे”
सपनाको दुर्गम बस्ती हुँदै
पहाडको खोँचबाट बगेर
उबो नफर्किने गरी बग्ने खोलोले
दुर्गम अनि निम्छरा बस्तिहरूको
कहिल्यै दया गरेन।
थोरै पनि माया नपाएको
खरको अनाम छानो,
मजदुरी गर्दै जीविका चलाउने
तिनै साइला दाइको नै हो।
कलिलो बैँस, थोत्रा लुगाफाटा,
खोपिल्टो देखिने अनुहार,
चिरा परेको हात समेत
साइला दाइकै हुन्।
चाँदनी रङ्गको सिङ्गार–पटार,
अग्लो सौन्दर्य,
सिमापारी सपनाको छानो
बनाउने सूक्ष्म चाहना पनि
साइला दाइको कहिल्यै पूरा भएन।
अझै भन्ने हो भने—
चिप्लो अनुहार,
सलक्क परेको जिउ,
सफा लुगा,
मिष्ठान्न भोजन पनि
कहिल्यै पुग्दैन
साइला दाइको आँगनसम्म।
सानु ललाटको रातो अक्षता,
साँगुरो गर्धन, गरुङ्गो माला,
अनि
एक जोर बहिनीको हात समेत—
यो साल पनि टीकाको थाल बोकेर
आँगनमा पुगेनन्।
अन्तै कतै बास कुरेर,
सबेरै घामको उज्यालोसँग
पछिपछि दौडेर पर पुग्छन्
सपनाको दुर्गम बस्ती।
पहाडले उदो बगाएको खोलो,
खरको अनाम छानो—
साइला दाइका सबैभन्दा प्रिय,
नजिकका,
कहिल्यै नछुट्ने अग्ला छिमेकी हुन्।

दियो खबर । २८ आश्विन २०८२, मंगलवार १२:४२