
कालिकोट । समाजवादी मोर्चा सम्बद्ध कालिकोटका नेताहरूलाई रुपान्तरणसहित अघि बढ्न संविधानसभा सदस्य एवम् अग्रज नेता तुलाराज बिष्टले सुझाव दिनुभएको छ ।
मोर्चाको जिल्ला स्तरीय अनौपचारिक बैठकमा बोल्दै नेता बिष्टले समाजवादको यात्रामा चुनौती धेरै भए पनि हतोत्साहित नभई रुपान्तरण र एकतासहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री आफैंको नेतृत्वमा आफ्नै पार्टी कार्यालय र घरमा आगो लाग्ने अवस्था सृजना हुनु दुःखद भएको भन्दै त्यस्ता घटनाबाट विचलित नभई बामपन्थी एकता र रुपान्तरणका माध्यमबाट देशलाई समृद्ध बनाउने संकल्प आवश्यक रहेको धारणा राख्नुभयो ।
माओवादी केन्द्र कर्णाली प्रदेश सचिव धनजीत बहादुर शाहीले अग्रज नेताहरूले अभिभावकको भूमिका निभाउने र युवा नेताहरूले नयाँ सोचका साथ अघि बढे कालिकोटमा समृद्धिसहित बामपन्थी प्रभाव अझ सबल हुने विश्वास व्यक्त गर्नुभयो ।
एकीकृत समाजवादी कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेले देशमा कांग्रेस र एमालेले निराशा सृजना गरेको भन्दै कालिकोटमा भने त्यसको जिम्मेवारी बामपन्थी दलहरूले लिनुपर्ने बताउनुभयो । उहाँले पुरानै ढाँचामा राजनीति चलाइए बामपन्थी आन्दोलन कमजोर हुने चेतावनी दिनुभयो । “भोट माग्दा अनेक वाचा गर्छन्, तर चुनावपछि जनतालाई बिर्सिन्छन् — अब यो प्रवृत्ति अन्त्य हुनुपर्छ,” गाउँलेले भन्नुभयो ।
मोर्चाका जिल्ला संयोजक लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ ले मोर्चालाई सक्रिय र जनमुखी बनाउन नयाँ सोचका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले लाभका लागि हुने लुछाचुडी र गुटबन्दी छाडेर समाजवादी विचारका दलहरूबीच एकता आवश्यक रहेकोमा जोड दिनुभयो ।
बैठकमा नेपाल समाजवादी पार्टीका नेता नरेन्द्र शाही, एकीकृत समाजवादीका प्रदेश सदस्य लालबहादुर मल्ल, माओवादी केन्द्रका जिल्ला सचिव सरोज बोगटी, नेकपाका नेता हस्त सि., खाँडाचक्र–१ का अध्यक्ष धर्मराज टमटा लगायत नेताहरूको सहभागिता रहेको थियो । बैठक गम्भीर समीक्षा र आगामी रणनीतिबारे छलफल गर्दै सम्पन्न भएको हो ।

दियो खबर । २८ आश्विन २०८२, मंगलवार ११:५५