अपडेट

नेकपा (एस) का भातृ संगठनले ५ सय र १ हजारका नोट चलनचल्तीमा रोक लगाउन माग

अनेरास्ववियू र युवा संघ नेपालद्वारा १३ बुँदे मागपत्र सार्वजनिक

सुर्खेत — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का भातृ संगठन अनेरास्ववियू र युवा संघ नेपालले पाँच सय र एक हजार रुपैयाँका नोटको चलनचल्तीमा निश्चित समयसीमा तोकी प्रतिबन्ध लगाउन माग गरेका छन्।

अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठ र युवा संघ नेपालका संयोजक रोशन थापाले आइतबार संयुक्त रूपमा १३ बुँदे मागपत्रसहित विज्ञप्ति जारी गर्दै भ्रष्टाचार नियन्त्रण, अवैध सम्पत्ति रोकथाम र अर्थतन्त्रलाई पारदर्शी बनाउनका लागि ठूला मूल्यका नोटहरू सीमित गर्नुपर्ने बताएका छन्।

विज्ञप्तिमा युवामुखी नीति निर्माण, व्यावसायिक अवसरको विस्तार, आधारभूत शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने, उद्यमशीलता प्रवर्द्धनका लागि ‘स्टार्टअप व्यवसाय’ लाई तीन वर्षसम्म कर छुटका साथै व्यवसाय सञ्चालनमा सहजीकरण गर्न माग गरिएको छ।

त्यसैगरी, नवप्रवर्तन र स्वरोजगार प्रवर्द्धनका लागि प्रदेशस्तरमा ‘बिजनेस इन्क्युबेशन सेन्टर’ स्थापना गर्नुपर्ने, साना तथा घरायसी व्यवसायलाई कानुनी रूपमा दर्ता र सञ्चालन गर्न सहज वातावरण बनाइदिनुपर्ने मागसमेत गरिएको छ।

अध्यक्ष श्रेष्ठ र संयोजक थापाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा युवालाई आत्मनिर्भर बनाउन दीर्घकालीन योजना सहितका नीति अपनाउन सरकारलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया