अपडेट

एनआरएनए अमेरिका मध्यपश्चिम संयोजकमा कालिकोटका हमालको उम्मेदवारी

सुर्खेत/ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनमा कालिकोटका राजकुमार हमालले मध्यपश्चिम क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्।

हाल एनआरएनए विस्कन्सिन च्याप्टरका अध्यक्ष रहेका हमालले संगठनमा पाँच वर्षभन्दा बढीको अनुभव, निरन्तर सक्रियता र प्रतिबद्धता बोकेका आधारमा उम्मेदवारी दिएका हुन्। उनले गैरआवासीय नेपाली समुदायको हक, हित र सेवा प्रवर्द्धनमा अझ प्रभावकारी रूपमा काम गर्न उम्मेदवारी दिएको जनाएका छन्।

“सम्पूर्ण अग्रज, दाजुभाइ, दिदीबहिनी र साथीहरूको सल्लाह, हौसला र प्रेरणालाई मनन गर्दै उम्मेदवारी दिएको हुँ,” दियो खबरसँगको कुराकानीमा उनले भने, “साथ, सहयोग र विश्वास पाएँ भने अझ प्रभावकारी ढंगले योगदान गर्न सक्छु भन्ने दृढ विश्वास लिएको छु।”

दैनिक जीवनमा सहयोग र सामाजिक सेवामा सक्रिय रहेका हमालले आफूमाथि जिम्मेवारी आयो भने निष्पक्ष, पारदर्शी र समुदायमुखी नेतृत्व दिने प्रतिवद्धता व्यक्त गरे। अघिल्लो कार्यकालमा संस्थाबाट पाएको माया, सम्मान र साथप्रति आभार व्यक्त गर्दै उनले सबैप्रति समान व्यवहार गर्ने अठोट पनि दोहोर्याए।

“झुटा आश्वासन, गुटबन्दी र भेदभावप्रति मेरो स्पष्ट असहमति छ। म न्यायको पक्षमा अडिग रहनेछु र नेपाली समुदायलाई एकतामा बाँध्न निरन्तर लागिरहनेछु,” हमालले स्पष्ट पारे।

दियो खबरसँगकै कुराकानीमा उनले आफैं जहाँ भए पनि दुख–पीडामा परेका नेपालीहरूलाई जुनसुकै समय सहयोग गर्न सधैं तयार रहेको बताए। “समय जे–जस्तो भए पनि म सहयोगमा प्रतिबद्ध छु, अघिल्लो दिनहरूमा पनि गर्दै आएको छु,” हमालले भने।

राजनीतिक र सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील हमालले नेतृत्व सम्हालेका हरेक पाटोमा सफलता हासिल गर्दै आएको उल्लेख गरे। उनले जुनसुकै स्थानमा अवसर पाउँदा नतिजामूलक र सकारात्मक काम गरेर सफलताको शिखर चुम्दै आएको पनि बताए।

एनआरएनए अमेरिका अन्तर्गतका ५ क्षेत्रमध्ये मध्यपश्चिम क्षेत्रबाट संयोजक पदमा उनी प्रमुख दावेदारका रूपमा उभिएका छन्। अबको नेतृत्वले गैरआवासीय नेपालीहरूको हितमा दीर्घकालीन प्रभाव पार्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया