कालिकोट/खाँडाचक्र नगरपालिका–३ स्थित श्री जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा फागुन २ गतेदेखि सञ्चालन हुने पाँचौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा पहिलो नगर प्रमुख कप खेलकुद प्रतियोगिता को तयारी तीव्र पारिएको छ।
प्रतियोगिता सञ्चालनका लागि आवश्यक जिम्मेवारी बाँडफाँट गर्ने तथा विविध विषयमा छलफल गर्न आयोजित नगर खेलकुद विकास समितिको बैठकमा नगर प्रमुख कमल बहादुर शाहीले समेत सहभागिता जनाएका छन्। बैठकमा प्रतियोगिताको प्रभावकारी व्यवस्थापन, खेलाडी चयन प्रक्रिया र खेल तालिका निर्धारणलगायत विषयमा छलफल गरिएको थियो।
नगर प्रमुख शाहीले खेलकुदले शारीरिक तन्दुरुस्तीका साथै विद्यार्थी तथा युवा वर्गलाई अनुशासित र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे। “स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरू महत्वपूर्ण छन्,” नगर प्रमुख शाहीले भने।
प्रतियोगितामा विभिन्न खेल विधामा विद्यार्थी तथा स्थानीय खेलाडीहरूको सहभागिता रहनेछ। आयोजक समितिले आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेको जनाएको छ।
बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाही, शिक्षा तथा खेलकुद शाखा प्रमुख जसी प्रसाद चौलागाईंलगायत खेल क्षेत्रमा अनुभव प्राप्त तथा ख्याति प्राप्त खेलाडीहरूको समेत उपस्थिती रहेको थियो।
दियो खबर । २८ माघ २०८१, सोमबार २१:३५