जापानमा रेल दुर्घटनामा व्यवसायी मेघराज नेपालको निधन

टोकियो/जापान – नेपाली समुदायमा प्रतिष्ठित व्यवसायी इञ्जिनियर मेघराज नेपालको रेल दुर्घटनामा परी असामयिक निधन भएको छ। जनवरी २८, २०२५ (२०८१ माघ १५) बिहान टोकियोको तामाची स्टेशनमा जेआर केइहिन-तोहोकु लाइनको द्रुत गतिको रेलले ठक्कर दिँदा उहाँको मृत्यु भएको हो।

झापा, नेपालका स्थायी बासिन्दा नेपाल तीन दशकदेखि जापानमा विभिन्न व्यवसायमा सक्रिय हुनुहुन्थ्यो। उहाँ एभरेस्ट इन्टरनेशनल स्कुलका उपाध्यक्षसमेत हुनुहुन्थ्यो। साथै, रेस्टुरेन्ट, रेमिट्यान्स र मानव संसाधन क्षेत्रमा समेत उहाँको संलग्नता थियो।

नेपाल जापानमा नेपाली पाठ्यक्रम अनुसार अध्यापन गराउने शैक्षिक संस्थासँग जोडिनुका साथै जापानी समाजमा पनि प्रभावशाली व्यक्तित्व मानिनुहुन्थ्यो। उहाँ श्रीमती, दुई छोरी र एक छोरासहित लामो समयदेखि जापानमा बसोबास गर्दै आउनुभएको थियो।

स्व. नेपाल झापाको साविक लखनपुर गाविसबाट छात्रवृत्तिमा विदेशमा अध्ययन गर्न जाने पहिलो व्यक्ति हुनुहुन्थ्यो। उहाँ नेपाली समुदायका लागि प्रेरणाको स्रोत मानिन्थ्यो। उहाँको निधनले नेपाली समाजमा अपूरणीय क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया