काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन्।
सोमबार महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। उनले संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको बताए। उनले संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौती रहेको बताए।
राष्ट्रपति पौडेलले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्नु नहुने बताए। उनले जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याइँ गर्न नहुने बताए। उनले संघीयताअनुसार अधिकार दिन शीर्ष तीन दलका नेताहरुसँग आफूले आग्रह गर्ने पनि बताए।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो। उपमहानगरपालिका मेयर मनोज साहले उनलाई नागरिक अभिनन्दनसहित मायाको चिनो दिएर स्वागत समेत गरेका थिए।
यस्तै प्रतिनिधिसभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उहाँलाई मायाको चिनो दिई सम्मान गरेका थिए। यसअघि राष्ट्रपति पौडेलले सोमबार बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका थिए।
दियो खबर । ८ आश्विन २०८०, सोमबार २०:०७